काठमाडौं । नेपाल एपली ग्यास उद्योग संघले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय होल्ड नगर्न उपभोक्तामा आग्रह गरेको छ ।
भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर रिफिलिङ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न संघले सबैमा आग्रह गरेको हो ।
‘उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ । आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन’, संघका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आयल निगमको पहलमा भारतको विभिन्न शोधनशाला (रिफाइनरी) बाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको छ । पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । यस आधारमा चालू आवको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ ।
गत आवको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो । उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास उद्योग संघले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्रीवितरण गर्न पनि बिक्रेतासँग आग्रह गरेको छ ।




