काठमाडौं: कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार मृत्यु भएको हो।

नेपाली दूतावासले घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाएको छ। दूतावासले तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

ADVERTISEMENT

दूतावासका अनुसार मृतक तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल फिर्ता पठाउन आवश्यक प्रक्रिया सुरु गरिएको छ। यसका लागि सम्बन्धित कुवेती निकाय र सरोकारवालासँग समन्वय भइरहेको दूतावासले जनाएको छ।

यसैबीच, कुवेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशन तथा मापदण्डको पूर्ण पालना गर्न र सम्भव भएसम्म सुरक्षित स्थानमा रहन दूतावासले अनुरोध गरेको हो।

ADVERTISEMENT

दूतावासले कुवेतमा रहेका नेपाली नागरिकको सुरक्षा अवस्थाबारे निरन्तर निगरानी गरिरहेको र आवश्यक समन्वय तथा सहयोग उपलब्ध गराउने जनाएको छ।