नेपालमा पछिल्लो समय देखिएको इन्टरनेट अवरोध र सुस्तताको कारण आन्तरिक पूर्वाधार व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय घटनाक्रमसम्म रहेको इन्टरनेट सेवा प्रदायकहरूले बताएका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अनुसार पोल र तार व्यवस्थापनको दीर्घकालीन समस्या तथा पश्चिम एसियाको द्वन्द्वका कारण इन्टरनेट सेवामा प्रभाव परेको हो।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले पोल र तार व्यवस्थापनमा देखिएको वर्षौंदेखिको समस्या समाधान हुन नसक्नुमा सम्बन्धित निकायको नेतृत्व तहमा देखिने व्यक्तिगत अडान र नीतिगत अस्पष्टता मुख्य कारण रहेको दाबी गरेका छन्।

ADVERTISEMENT

उनका अनुसार पूर्वाधार कम्पनी, विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच प्रभावकारी समन्वय हुन नसक्दा उपभोक्ता र सेवा प्रदायक दुवैले समस्या भोगिरहेका छन्। २० वर्षदेखि रहेको तार व्यवस्थापनको समस्या समाधान गर्न सरकारले दीर्घकालीन योजना बनाउन नसकेको उनको आरोप छ।

ADVERTISEMENT

पराजुलीले पूर्वसूचना र सहमतिबिना तार काट्ने कार्यले इन्टरनेट सेवा अवरुद्ध हुने र समग्र डिजिटल प्रणालीमा असर पर्ने बताए। अव्यवस्थित तार हटाउन स्पष्ट नीति, योजना र भूमिगत पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ।

यसैबीच अन्तर्राष्ट्रिय घटनाक्रमले समेत नेपालको इन्टरनेटमा प्रभाव पारिरहेको उनले बताएका छन्। पश्चिम एसियामा देखिएको तनावका कारण समुद्रमुनि बिछ्याइएका सबमरिन केबलमा समस्या आउँदा अन्तर्राष्ट्रिय ब्याण्डविथ आपूर्तिमा असर परेको र त्यसको प्रभाव नेपालसम्म पुगेको उनको भनाइ छ।

ADVERTISEMENT

नेपाल भूपरिवेष्ठित देश भएकाले अधिकांश इन्टरनेट भारत हुँदै आउने गर्छ। विश्वका ठूला सर्भरबाट समुद्रमुनिका केबलमार्फत भारतका तटीय सहरमा पुगेको इन्टरनेट जमिनमुनिका अप्टिकल फाइबरमार्फत नेपाल भित्रिन्छ।

नेपालको करिब ९० प्रतिशतभन्दा बढी इन्टरनेट भारत हुँदै आउने र भारतीय टेलिकम कम्पनीमार्फत नेपाली सेवा प्रदायकहरूले ब्याण्डविथ खरिद गर्ने गरेका छन्। त्यसैले अन्तर्राष्ट्रिय इन्टरनेट पूर्वाधारमा समस्या आउँदा नेपालमा पनि सेवा सुस्त हुने वा अवरुद्ध हुने अवस्था सिर्जना हुने सेवा प्रदायकहरूको भनाइ छ।