काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट स्वीकृत गरेको हो। आयोगका सूचना अधिकारी अर्जुन ढकालका अनुसार स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ रहेको छ।

ADVERTISEMENT

बैठकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ तथा चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान गरिएको ३५ करोड रुपैयाँमध्ये चालु आवका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ।

ADVERTISEMENT

स्वीकृत बजेटमध्ये आन्तरिक स्रोततर्फ चालु खर्चका लागि ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको आयोगले जनाएको छ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव एवं सहसचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।

चिकित्सा शिक्षा आयोगले स्वीकृत बजेटमार्फत चिकित्सा शिक्षा क्षेत्रको नियमन, गुणस्तर सुधार तथा अन्य कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।