काठमाडौं । एमाले र नेकपाबीच पाँच प्रदेशमा सरकार बनाउने गरी नयाँ गठबन्धन बनेपछि प्रदेश सरकार तरल बनेका छन् । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा गरेका छन् । सुदूरपश्चिम र बागमती प्रदेशका मुख्यमन्त्री के गर्ने भन्ने अलमलमै छन् ।

बागमती प्रदेशमा सत्ता समीकरणको फेरबदलसँगै मुख्यमन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयले चर्चा चलिरहेको छ ।

ADVERTISEMENT

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ स्वयं सरकार निर्माणका लागि आवश्यक बहुमत सिद्ध गरेमा आफूले मार्ग प्रशस्त गर्ने बताउँदै आएका छन् । बागमती सरकारको नेतृत्व एमालेबाट हुने गरी नेकपाले सत्ता साझेदारीमा नयाँ गठबन्धन बनाएको छ ।

ADVERTISEMENT

अहिले बागमती सरकारका मुख्यमन्त्री बानियाँले राजीनामा गर्लान् वा विश्वासको मत लिएर संसद् फेस गर्लान् भन्ने विषयमा चासो उत्पन्न भएको छ ।

बागमती सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले तत्काल राजीनामा दिने योजना नरहेको बताएका छन् । अन्य दलहरूसँग विश्वासको मतका लागि आवश्यक छलफल भइरहेको उनको भनाइ छ ।

प्रदेशमा हालसम्म कुनै पनि दलले बहुमत सिद्ध गर्न नसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिने विषय नरहेको र सरकारले विश्वासको मत लिन सक्ने समय पनि बाँकी रहेकाले छलफल भइरहेको उनको भनाइ छ ।

‘अहिलेको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीले तत्काल राजीनामा दिने विषय उठेको छैन । हामी विश्वासको मतको विषयमा अन्य दलहरूसँग छलफल गरिरहेका छौँ,’ उनले भने, ‘संसदीय प्रक्रिया पनि त्यही हो । हाल कसैको पनि बहुमत नरहेकाले बागमती संसद्को स्थायित्वका लागि सरकारको निरन्तरता नै उत्तम हो ।’ सरकारले संवैधानिक प्रक्रिया अनुसार नै अगाडि बढ्ने रणनीति बनाएको छ र अन्य साना दलहरूको समर्थन जुटाउन छलफल गरिरहेको उनको भनाइ छ ।

नयाँ सरकार गठनका लागि एमाले र नेकपाको गठबन्धनलाई बहुमत पुर्याउन सकस भइरहेको उनले बताए । मन्त्री तामाङले राप्रपाको भूमिका सबैभन्दा निर्णायक रहेकाले कांग्रेसकै नेतृत्वमा पनि सरकार बन्ने अवस्था रहेको बताए । यदि एमाले र नेकपाको गठबन्धनले बहुमत जुटाउन नसकेमा वा राप्रपाले पनि साथ नदिएमा संविधान अनुसार सबैभन्दा ठुलो दलको हैसियतमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले बताए ।