काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल उत्तर कोरियासँगको खेलमा ११–० गोलले पराजित भएको छ । भुटानमा जारी छनोटमा नेपाल उत्तर कोरियासँग पहिलो हाफमै पाँच गोलले पछि परेको थियो ।
खेलको तेस्रो मिनेटमै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाँचौं गोल गरेको थियो ।
दोस्रो हाफमा उत्तर कोरियाले थप ६ गोल गर्दै नेपाललाई पराजित गरेको छ । नेपालले एकपटक पनि पोस्टमा चार्ज गर्ने मौकासमेत पाएन । अधिकांश समय उत्तर कोरियाका खेलाडीकै नियन्त्रणमा बल थियो । नेपाली खेलाडीले सम्हालेर खेल्न सकेनन् । सुरुदेखि नै नेपाली खेलाडी दबाबमा खेलेका थिए । रक्षात्मक खेलको फाइदा उत्तर कोरियाली खेलाडीले लिए ।
यसअघिको खेलमा नेपालले साउदी अरबलाई पराजित गर्दै छनोटको सम्भावना कायमै राखेको थियो । तर उत्तर कोरियासँग हारेपछि नेपालको अघिल्लो चरणमा खेल्ने सपनामा तुषरापात भएको छ । नेपालले प्रतियोगितामा समान १-१ जित, हार र बराबरीका साथ ४ अंक जोड्यो । नेपाल अन्तिम चरणमा भने अघि बढ्न सकेन ।













