काठमाडौं – नेपाली राष्ट्रिय कुस्ती टोलीले जापानमा हुने २० औं एसियाली खेलकुद (एसियसड) २०२६ को अन्तिम तयारी भारतको नयाँदिल्लीमा गर्न भएको छ।
टोलीमा सुरेश चुनारा (७४ केजी), निखिल राज पटेल (८६ केजी), राज यादव (१२५ केजी), यादव किशोर राम (६५ केजी), सुशीला चन्द (६२ केजी) र शिवांगी दुबे (५७ केजी) रहेका छन्।
टोलीसँगै प्रशिक्षक राजेन्द्र चन्द, टोली व्यवस्थापक खगेन्द्रबहादुर बस्नेत तथा सहायक टोली व्यवस्थापक मुमताज अली छन् ।
जुलाई १७ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुने प्रशिक्षण शिविरका लागि प्रस्थान गर्ने टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) भवनमा आज आयोजित कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले सफल प्रशिक्षण तथा उत्कृष्ट प्रदर्शनको शुभकामना दिँदै बिदाइ गरे।
बिदाइमा एनओसीका सचिव भीमसिंह गुरुङ र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाश कुसारीको पनि उपस्थिति थियो।
भारतमा रहँदा कुस्ती टोलीले उत्तर प्रदेशको नन्दनीनगरलगायत विभिन्न एकेडेमीमा प्रशिक्षणमा गर्ने छ । एसियाड जापानको आइची–नागोयामा असोज ३ देखि १८ गतेसम्म हुनेछ । अध्यक्ष कुसारीका अनुसार टोली भारतबाटै जापान जाने छ ।





