जनकपुरधाम– बाराको निजगढमा मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ।

प्रधानमन्त्रीस्तरीय बैठकको निष्कर्ष आएपछि तेस्रो चरणको वार्ता गर्ने सहमतिसहित सोमबारको छलफल टुंगिएको मिटरब्याज पीडित अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन्।

ADVERTISEMENT

घिमिरेका अनुसार मिटरब्याज समस्या समाधानका लागि प्रस्तुत ६ बुँदे मागमाथि प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल भइरहेको छ। उक्त बैठकको निर्णयपछि सरकार र आन्दोलनरत पक्षबीच तेस्रो चरणको वार्ता हुनेछ।

वार्ताका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याजसम्बन्धी अध्ययनका लागि गठन गरिएका गौरिबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

ADVERTISEMENT

दुवै पक्षले आ–आफ्ना माग र प्रस्तावबारे थप गृहकार्य गर्ने सहमति पनि गरेका छन्। यद्यपि, लिखित सहमति नभएसम्म आन्दोलन नरोकिने अभियन्ता घिमिरेले स्पष्ट पारेकी छन्।

उनले सरकारसँग मागपत्रका विषयमा लिखित सहमति हुन नसके जनकपुरधामबाट सुरु गरिएको पैदल ‘न्याय मार्च’ पुनः काठमाडौंतर्फ अघि बढाइने चेतावनी दिइन्।

मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीबाट काठमाडौंसम्मको पैदल न्याय मार्च सुरु गरेका थिए। उनीहरूको मागमा मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका लिखत खारेज, प्रभावकारी कानुन निर्माण, विशेष न्यायाधिकरण गठन तथा विगतका सम्झौताहरू कार्यान्वयनलगायत ६ बुँदा समावेश छन्।