काठमाडौं । बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाको शक्तिशाली विद्युतीय सुपरकार ‘डेन्जा जेड’ सार्वजनिक भएको छ । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाले बेलायतमा आयोजित चर्चित ‘गुडवुड फेस्टिभल अफ स्पिड’ कार्यक्रममा आफ्नो नयाँ विद्युतीय सुपरकार डेन्जा जेड सार्वजनिक गरेको हो ।
कम्पनीले चीनमा यो सुपरकारको प्रारम्भिक मूल्य करिब एक लाख तीन सय अमेरिकी डलर अर्थात् करिब एक करोड ५३ लाख रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य करिब एक लाख ८४ हजार आठ सय अमेरिकी डलर अर्थात् करिब दुई करोड ८३ लाख रुपैयाँ निर्धारण गरेको छ ।
चीनमा यसको मूल्य तुलनात्मक रूपमा कम हुनुमा स्थानीय उत्पादन प्रणाली, बलियो आपूर्ति सञ्जाल र कम उत्पादन लागतलाई मुख्य कारण मानिएको छ । डेन्जा जेड बीवाईडी समूहकै सबैभन्दा शक्तिशाली मोडलमध्ये एक हो, जसमा तीनवटा विद्युतीय मोटर जडान गरिएको छ । यसले कुल एक हजार पाँच सय ८२ हर्सपावर शक्ति उत्पादन गर्छ ।
यसको पछाडिको एक्सलमा रहेका दुईवटा स्वतन्त्र विद्युतीय मोटरहरू प्रति मिनेट ३० हजार पटकसम्म घुम्न सक्ने कम्पनीले जनाएको छ । डेन्जा जेडले शून्यदेखि सय किलोमिटर प्रतिघण्टाको गति केवल १ दशमलव ९६ सेकेन्डमै हासिल गर्न सक्छ । यसको अधिकतम गति ३५० किलोमिटर प्रतिघण्टा रहेको छ ।
दुई ढोका र चार सिट क्षमताको यो विद्युतीय स्पोट्र्स कार हार्डटप र कन्भर्टिबल संस्करणमा उपलब्ध हुनेछ । यसमा ७६ किलोवाट आवर क्षमताको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसले डुअल गन फ्ल्यास चार्जिङ प्रविधि समर्थन गर्छ ।
कम्पनीका अनुसार यस प्रविधिबाट करिब पाँच मिनेटमा ब्याट्रीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म र करिब नौ मिनेटमा १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
डेन्जा जेडको अर्को विशेषता यसको ‘स्टियर–बाई–वायर’ प्रविधि हो, जसमा परम्परागत मेकानिकल स्टेयरिङ लिंकको सट्टा इलेक्ट्रोनिक प्रणालीमार्फत नियन्त्रण गरिन्छ, जसले उच्च गतिमा अझ सटीक प्रतिक्रिया र राम्रो नियन्त्रण प्रदान गर्ने दाबी गरिएको छ ।
यसमा डिसस-एम म्याग्नेटोरियोलोजिकल एक्टिभ सस्पेन्सन प्रणालीसमेत उपलब्ध छ, जसले ड्राइभिङ स्थिरता र प्रदर्शन सुधार गर्न सहयोग गर्छ । बीवाईडीले डेन्जा जेडमार्फत विद्युतीय सवारी केवल किफायती र वातावरणमैत्री विकल्प मात्र नभई उच्च प्रदर्शन र सुपरकारको स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने प्रविधि बनिरहेको सन्देश दिएको छ ।







