काठमाडौं । होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासीले मानवअधिकार आयोग गुहारेका छन् । मंगलबार भूमिहीन सुकुम्बासी प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगरलाई उनको कार्यकक्षमा पुगेर मानवअधिकार संरक्षणसम्बन्धी अपिलपत्र बुझाएको छ।
दलमर्दन कामी, प्रमिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायत आयाेग कार्यालय पुगेका थिए । साे अवसरमा आयोगका अन्य माननीय सदस्यहरू तथा सदस्यसचिवसमेत उपस्थित थिए।
अपिलपत्र बुझिसकेपछि अध्यक्ष मगरले आयोगले पीडित परिवारहरूको विषयमा यसअघि पनि सरकारसमक्ष मानवअधिकार संरक्षणका लागि आवाज उठाउँदै आवश्यक पहल गर्दै आएको उल्लेख गर्दै, प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीले जानकारी दिए ।
प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको वास्तविक अवस्था, राहत वितरणमा देखिएको विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानप्रदत्त आवास र मानवअधिकार संरक्षणका विषयमा आयोगको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अनुगमन, आवश्यक निर्देशन र भूस्वामित्वसहितको स्थायी पुनःस्थापनाका लागि पहल गरिदिन आग्रह गरेको छ।







