काठमाडौं । कालीकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलास्थित पानीघट्टमाथिबाट आएको पहिरोले पुरिँदा स्थानीय ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावदको घटनास्थलमै मृत्यु भएको हो।
उनीहरू सोमबार बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका बेला घट्टमा बसिरहेका अवस्थामा माथिबाट आएको पहिरोले पुरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर दुवै जनाको शव पहिरोबाट बाहिर निकालेको थियो।
पहिरोका कारण पानीघट्टको आधा भागसमेत पुरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।





