काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन सोमबार बिहानैदेखि डोजर चलाइएको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र जिल्ला प्रहरी प्रमुख (एसपी) कविता कटुवालको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएर अस्पताल परिसरभित्र बनेका संरचना भत्काइएको छ ।
अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए ।
व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका २६ वटा सटर डोजर लगाएर भत्काइएको हो । सोमबार बिहानैदेखि मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली खटिएको छ । बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संरचना भत्काइँदै छ ।
यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनाधिकृत संरचना हटाउन निर्देशन दिएका थिए ।
निर्देशन लगत्तै अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गरेको थियो । त्यसअघि संरचना खाली गर्न असार ५ गते १५ दिने सूचना निकालेको थियो । अस्पताल प्रशासनले दिएको अन्तिम समयसीमा भित्रै अधिकांश व्यवसायीले आफ्ना सामानहरू सारिसकेका थिए ।





