काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार गैरीधारास्थित कान्तिपुर थिएटर पुगेर ‘सेतो धरती’ नाटक अवलोकन गरेकी छन्।
केही सहयोगीका साथ थिएटर पुगेकी भण्डारीले नाटक निकै उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै आफूलाई निकै मन परेको बताएकी छन्।
मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ मा आधारित उक्त नाटक कान्तिपुर थिएटरले दर्शकको मागअनुसार पुनः मञ्चन गरिरहेको हो। गत १३ गतेदेखि पुनः सुरु गरिएको नाटक सुरुमा असार १६ सम्म मात्रै मञ्चन गर्ने योजना भए पनि दर्शकको उत्साहजनक साथपछि असार २८ सम्म लम्ब्याइएको छ।
चर्चित अभिनेत्री बेनिशा हमालको रंगमञ्च डेब्यु रहेको नाटकको पहिलो मञ्चन गत वैशाख १९ गते भएको थियो। सुन्दर धितालको निर्देशनमा तयार भएको नाटकमा कान्तिपुर थिएटरका करिब ३० जना कलाकारको अभिनय रहेको छ।
यसैबीच, कान्तिपुर थिएटरले अब विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’ मा आधारित सोही नामको नाटक मञ्चन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।





