काठमाडौँ। नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ आगामी साउन ६ गते औपचारिक रूपमा समापन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले मातहतका प्रदेश, जिल्ला र पालिका कार्यसमितिलाई परिपत्र जारी गर्दै अभियानका बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिएको हो।

महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्रअनुसार १५औँ महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता फारम वितरण तथा नयाँ सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि साउन ३ गतेसम्मको समय थप गरिएको छ। सोही अवधिसम्म युवा केन्द्रित विशेष अभियानअन्तर्गत खटिएका केन्द्रीय प्रतिनिधिहरूले पनि आफ्नो जिम्मेवारी पूरा गर्नेछन्।

परिपत्रमा साउन ४ गते पालिकामा खटिएका प्रतिनिधिले जिल्ला प्रतिनिधिसमक्ष प्रतिवेदन बुझाउने र साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा जिल्ला कार्यसमितिको आयोजनामा ‘जरा अभियान’ समापन कार्यक्रम गर्ने उल्लेख गरिएको छ।

ADVERTISEMENT

कांग्रेसले वैशाख १ गतेदेखि देशभर अभियान सञ्चालन गर्दै डिजिटल ‘कांग्रेस आईडी’, वडामै क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणलाई अनिवार्य बनाएको थियो। अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएका थिए।

ADVERTISEMENT

तर सदस्यता अद्यावधिकका क्रममा पुराना क्रियाशील सदस्यले पनि अनिवार्य रूपमा फारम भर्ने र फोटो खिचाउने व्यवस्था गरेपछि पार्टीभित्र विवाद चर्किएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले गत पुसमै सदस्यता नवीकरण भइसकेकाले पुनः अद्यावधिक गर्न बाध्य पार्न नहुने अडान राख्दै आएका छन्।

ADVERTISEMENT

यही विवादका कारण देउवा, डा. शेखर कोइरालालगायत शीर्ष नेताहरूले हालसम्म सदस्यता अद्यावधिक गरेका छैनन्। पार्टीभित्रको यही मतभेदले कांग्रेसमा आन्तरिक तनाव बढेको छ।

देउवा पक्षले वीपी स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम गर्ने निर्णयसमेत गरिसकेको छ।