काठमाडौं । चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ ६ गतेदेखि प्रदर्शनमा आउने ‘माग्ने राजा’ को बिहीबार क्युएफएक्स सिभिल मल एक समारोहका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
मुनाल घिमिरेद्वारा निर्मित र ऋषि लामिछानेद्वारा निर्देशित सो चलचित्रमा केदार घिमिरे माग्नेबुढा र वर्षा शिवाकोटीको प्रमुख भूमिका रहेको छ । चलचित्रमा शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतले अभिनय गरेका छन् ।
युट्युबमा सार्वजनिक चार मिनेटको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । गाउँले निर्धन युवाको धनी बन्ने सपनाको कथावस्तुमा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ । केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामा केदारले अभिनय गरेको यो पहिलो फिल्म हो ।













