काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलाल मेयरलाई नै सरुवा गरिदिने भनेर चर्चामा आएका छन् । उदयपुर १ बाट निर्वाचित गेलाल चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका बासिन्दा हुन् ।
भिडियो उदयपुर–२ का सांसद सूर्य तामाङले पहिले सार्वजनिक गरेका हुन् । तामाङ रवि लामिछाने र गेलाल बालेन शाह पक्षधर मानिन्छन् ।
पार्टीभित्र उनी शिक्षा, व्यवसाय र संगठनात्मक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमासमेत चिनिन्छन् । तर, यो भिडियोले उनको छविमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
जननिर्वाचित कुनै पनि प्रतिनिधिलाई भ्रष्टाचारमा बाहेक कार्वाही वा कहींकतै सरुवा गर्नै पाइन्न । संविधानको धारा २१५ र स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष र नगर प्रमुख (मेयर) निर्वाचित पदाधिकारी हुन् । उनीहरूलाई हटाउन महाभियोग, राजीनामा वा अदालती प्रक्रिया मात्र विकल्प छन् । सामान्य सरुवा जस्तो कर्मचारी शैलीमा हटाउने प्रावधान नै छैन ।
रास्वपाले अहिलेसम्म यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । पार्टी सभापति रवि लामिछानेले यसअघि नै ‘कानुनभन्दा माथि कोही छैन’ भन्ने भाषण गर्दै आएका थिए । रास्वपाले आफ्ना सांसदहरूलाई दुई दुईपटक अभिमुखीकरण प्रशिक्षण कार्यक्रम गरिसकेको छ । तर, आफ्नै सांसदबाट यस्तो अभिव्यक्ति आएपछि पार्टीको सिद्धान्त र व्यवहारबीचको खाडल झन् स्पष्ट भएको छ ।
गेलालले अब मेयरलाई नै सरुवा गर्न लागेको भिडियो संवाद सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् । स्थानीय तह सञ्चालन ऐन र संविधानले स्पष्ट रूपमा पाँच वर्षे पदावधि तोकेको मेयरलाई ‘कर्मचारी जस्तै सरुवा’ गर्न सकिने उनको धारणाले विवादमा तानिएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा गेलालले एक व्यक्तिसँग कुरा गर्दै भनेका छन्, ‘अधिकृत भनेको कर्मचारी हुन् । ती सुध्रिन सक्छन् । अब मेयरै सरुवा गर्नुपर्छ । मेयर सरुवा गर्ने तयारी गर्नुस्, मैले भन्या छु ।’
स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका गेलालले ‘असंवैधानिक’ कुरा कसरी गर्न सकेका होलान् ? भन्ने प्रश्न उब्जेको छ । उनी गाडी व्यापारी हुन् । सुरुमा रिकन्डिसन गाडी बेच्दै आएका गेलाल पछिल्लो समय धेरै गाडी आयात र बिक्री गर्ने व्यवसायीमा पर्छन् ।












