काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव संकलन गरिने भएको छ ।

शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पाँच वर्षे चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागिएकाले विज्ञसँग सुझाव जम्मा गर्न लागिएको हो ।

ADVERTISEMENT

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले मंगलबार आयोजना गरेको ‘विद्यालय तहको पाठ्यक्रम पुनरावलोकनः सरोकारवालाको दृष्टिकोण र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यदलका संयोजक डा.बालचन्द्र लुइँटेलले कार्ययोजनाअनुसार मुख्य १२ विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव संकलन गरिने बताए ।

लुइँटेलले सक्षमता, व्यावसायिक तथा प्राविधिक शिक्षा, स्थानीय ज्ञान, मानव मूूल्य र नैतिक शिक्षा, कला, खेल, स्वास्थ्य, समावेशीकरण, विपद् व्यवस्थापन, मातृभाषा शिक्षण विधि, मूल्यांकन पद्धति, पाठ्यक्रम कार्यान्वयनका विषयमा सुझाव संकलन गरी नौ महिनामा पाठ्यक्रमको स्वरुप तयार गरिने बताए ।

ADVERTISEMENT

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को गत वैशाख ११ गते शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको ९८औं बैठकले काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ एजुकेसन’ का डीन लुइँटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलकी सदस्य डा. मीनाक्षी दाहालले प्राप्त सुझावलाई ग्रहण गर्ने बताइन् । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यार्थीलाई स्वतन्त्र र सृजनशील बनाउन पाठ्यक्रमले जोड दिनुपर्ने बताए ।

प्राज्ञ विमल फुयाँलले ज्ञानको ठूलो भएकाले राष्ट्र निर्माणको आधारशिलामा पाठ्यक्रमले जोड दिनुपर्ने बताए । पाठ्यक्रम विकास केन्द्रका निर्देशक विजयराज बडूले पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक तालिम, विद्यालय शिक्षा अनुगमन र मूल्यांकन फरकफरक निकायबाट हुने स्थिति भएकाले पाठ्यक्रमका लक्ष्यमा पुग्न चुनौती देखिएको बताए।

शिक्षा विश्लेषक टीका भट्टराईले शिक्षा बिग्रनुको दोष केवल पाठ्यक्रमलाई दिन नहुने बताए । शिक्षा तथा खेलकुद मन्त्रालयका पूर्वसचिव दीपेन्द्रविक्रम थापाले पाठ्यक्रममा जातीय विभेद जनाउने उदाहरण हट्नुपर्ने बताए ।