काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रमा ढिलाइ भएको छ । प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र ढिलो भएको हो ।

आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।

निर्वाचन समितिले आइतबार चार हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर नामावलीमा अत्यधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ । प्रतिनिधिहरूले नाम सच्याउने निवेदन दिनका लागि फाराम भर्दै बुझाइरहेका छन् ।

ADVERTISEMENT

अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरूको भिडभाड छ । बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यक्रम छ । रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको छ ।

ADVERTISEMENT

बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । सर्वसम्मत रूपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ । निर्वाचन आयोगले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ । जारी महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दिन नेताहरू फारम भर्न व्यस्त देखिएका छन् ।

ADVERTISEMENT