जेनेभा । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ । वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गरेका छन् ।

इरानी प्रतिनिधिमण्डलमा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी छन् । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएइले प्रारम्भिक सम्झौताअनुसार अर्को पक्षले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग वार्तामा उठाइने बताए।

ADVERTISEMENT

अमेरिकी वार्ताकार जारेड कुशनर र स्टिभ विटकफ भने वार्तास्थलमा पुगेर प्राविधिक विषयमा छलफल गरिरहेको जनाइएको छ । मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीर पनि उच्चस्तरीय वार्तामा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेको जनाएको छ । वार्ताको मुख्य उद्देश्य प्रारम्भिक सहमतिबाट समाधान हुन बाँकी विषय, विशेषगरी इरानको आणविक कार्यक्रमबारे दुई महिनाको वार्ता प्रक्रिया सुरु गर्नु रहेको बताइएको छ ।

इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै स्ट्रेट अफ हर्मुज पुनः बन्द गर्ने घोषणा गरेको छ । युरोप प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धबिरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरे ।

ADVERTISEMENT

गत शुक्रबार हुने तय भएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका चार सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको जनाइएको छ ।

अमेरिकाले शुक्रबार लेबनानमा युद्धबिराम पुनः लागू भएको घोषणा गरे पनि शनिबार इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भएको थियो । दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकाले प्रारम्भिक सम्झौताको पालना नगरेको तथा दक्षिणी लेबनानमा इजरायलले निरन्तर युद्धबिराम उल्लंघन गरेको आरोप लगाउँदै स्टे«ट अफ हर्मुजमा जहाज आवागमनका लागि पुनःबन्द गरिने घोषणा गरेको छ ।

विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज युद्धको अधिकांश अवधिमा इरानले अवरुद्ध गरेको थियो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियानबीच भएको प्रारम्भिक सहमतिअनुसार हर्मुज खुला गरिएको थियो ।

इरानको घोषणापछि अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन कायम रहेको र अमेरिकी सेना सतर्क अवस्थामा रहेको जनाएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले वार्ताबाट अन्तिम सहमति ननिस्किए अमेरिकाले हर्मुजमार्फत हुने आवागमनमा आफ्नै शुल्क प्रणाली लागू गर्नसक्ने चेतावनी दिएका छन् ।