काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा उनले शिवकर्माको मृत्युको विषयमा छानबिन समितिको प्रतिवेदन प्राप्त भएको बताउँदै प्रहरी निर्दोष देखिएको प्रस्टीकरण दिएका छन् ।

ADVERTISEMENT

सांसद भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए ।

प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको भन्दै उनले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने प्रतिबद्धता जनाए । बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए ।

ADVERTISEMENT

अन्तरजातीय विवाहकै कारण दलितमाथि हत्या, कुटपिट भइरहेकोतर्फ उनले मन्त्री गुरुङको ध्यानाकर्षण गराए । टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेका थिए ।

विश्वकर्माको हिरासतमै मृत्यु भएपछि दोषी प्रहरीलाई कारबाहीको माग गर्दै सत्तारुढ रास्वपाका खगेन्द्र सुनार, रिमा विश्वकर्मासहितका सांसदलगायतले कारागार अगाडि धर्ना दिएका थिए । उनीहरूले प्रतिनिधिसभा बैठकमा समेत विश्वकर्माको मृत्युको विषयमा सरकार गम्भीर नदेखिएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् ।