काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा आबद्ध गराउने उद्देश्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ।
प्रदेश सरकारले स्वतन्त्र प्रेसको सम्मान तथा पत्रकारहरूको पेसागत सुरक्षालाई मजबुत बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। बजेटमार्फत पत्रकारलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने र बिमाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरका अनुसार बागमती प्रदेशका १३ जिल्लामा दुई हजार ५०० भन्दा बढी पत्रकार सक्रिय छन्। उनले सरकारले विनियोजन गरेको बजेटले पत्रकारहरूको सामाजिक तथा आर्थिक सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष मगरले पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्रको विकास र प्रवर्द्धनका लागि बजेटमा समावेश अन्य कार्यक्रमहरू पनि प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
बागमती प्रदेश सरकारले सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरण, पत्रकारको क्षमता विकास तथा पेसागत सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ।





