काठमाडौं। नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

बुधबार सम्पन्न सम्झौतामा कोषका तर्फबाट निर्देशक नवराज खड्का र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका छन्।

ADVERTISEMENT

सम्झौताअनुसार बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीका लागि योगदानमा आधारित तथा गैरयोगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन तथा कार्यान्वयन नागरिक लगानी कोषले गर्नेछ।

ADVERTISEMENT

कोषले सहभागी कर्मचारीको व्यक्तिगत खाता तयार गर्ने, परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम तथा विवरणका आधारमा खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टी गरी अवकाश रकम भुक्तानी गर्नेछ।

ADVERTISEMENT

यस्तै, कर्मचारीले कोषमा जम्मा गरेको रकमबाट प्राप्त ब्याज, प्रतिफल तथा अन्य सुविधा कोषको नियमावलीअनुसार प्राप्त गर्नेछन्।

सम्झौतामा आयकर ऐन, २०५८ अनुसार स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीको साविकको सञ्चित रकम तथा बहाल रहेका कर्जालाई समेत नागरिक लगानी कोषमा रकमान्तर गरी समायोजन गरिने उल्लेख गरिएको छ।