काठमाडौँ। नेपाल राष्ट्र बैंकले दृष्टिविहीन व्यक्तिलाई लक्षित गर्दै स्पर्शबाटै दर पहिचान गर्न सकिने विशेषता भएको नयाँ ५०० रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याएको छ।
मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नयाँ नोटमा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिले सहज रूपमा नोटको मूल्य छुट्याउन सकून् भनेर पानीछापको बायाँतर्फ दुईवटा कालो थोप्ला राखिएको छ। यी चिन्हलाई स्पर्श गरेर नोटको दर पहिचान गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार सङ्केत नम्बर झ३८, ०००००१ देखि ट८३, ९९९९९९ सम्मका बैंकनोट प्रचलनमा आउनेछन्। साथै बैंकले यसअघि २०७८ पुस ९ गते जारी
गरिएको ५०० रुपैयाँ दरको ‘सिरिज २०२०’ सम्बन्धी सूचनामा उल्लेख गरिएअनुसार सम्पूर्ण नोट प्रचलनमा नआएको पनि स्पष्ट गरेको छ। सो सिरिजअन्तर्गत सङ्केत नम्बर छ३७, ०००००१ देखि झ३८, २४८००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
साविककै आकार र रङ्गमा जारी गरिएको नयाँ नोटमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानीछाप तथा अत्याधुनिक सुरक्षा विशेषता समावेश गरिएको छ। नोटको अग्रभागमा रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता रहेको छ।
त्यसैगरी नोटमा ३.५ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पछाडिको भागमा पाटेबाघको चित्र तथा ‘NEPAL RASTRA BANK’ र ‘RUPEES FIVE HUNDRED’ लेखिएको छ।
नयाँ बैंकनोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। राष्ट्र बैंकले नयाँ सुरक्षा प्रविधिसहित जारी गरिएको बैंकनोटले नोटको पहिचान, प्रयोग र सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।
दृष्टिविहीनमैत्री विशेषता समेटिएको यो बैंकनोटले वित्तीय पहुँच र समावेशितालाई अंगिकार गरेको देखिन्छ।
बैंक नोटमा भएका सुरक्षा विशेषताहरू जान्न यहाँ क्लिक गर्नुहोस :Bank Notes Security Features






