नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा डेपुटी गभर्नरको संख्या बढाउने प्रस्ताव सांसदहरूले दर्ता गरेका छन्। प्रस्तावअनुसार हाल कायम दुई जनाको सट्टा तीन जना डेपुटी गभर्नर रहने व्यवस्था गर्नुपर्ने र थपिने तेस्रो डेपुटी गभर्नर राष्ट्र बैंक बाहिरका विज्ञबाट नियुक्त गर्नुपर्ने व्यवस्था राखिएको छ।

प्रतिनिधि सभामा दर्ता भएको उक्त संशोधनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले छुट्टाछुट्टै रूपमा संशोधन प्रस्ताव पेस गरेका हुन्। उनीहरूले डेपुटी गभर्नरको संख्या २ बाट बढाएर ३ पुर्‍याउने माग अघि सारेका छन्।

ADVERTISEMENT

रास्वपाका सांसद सुशील खड्का, नेकपाका सांसद रमेश मल्ल र राप्रपाकी सांसद खुश्बु ओलीले डेपुटी गभर्नरको संख्या तीन पुर्‍याउने प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावमा थपिने तेस्रो डेपुटी गभर्नर राष्ट्र बैंक बाहिरका विज्ञ हुनुपर्ने व्यवस्था पनि समावेश गरिएको छ।

संसद् सचिवालयका अनुसार राष्ट्र बैंक ऐन संशोधन विधेयकमा कुल १८ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

ADVERTISEMENT

त्यसैगरी, सांसदहरूको प्रस्तावमा राष्ट्र बैंकको सञ्चालक समितिलाई समावेशी बनाउने विषय पनि समेटिएको छ। जसअनुसार कम्तीमा एक जना महिला सदस्य अनिवार्य हुने व्यवस्था प्रस्ताव गरिएको छ। हाल ७ सदस्यीय रहेको सञ्चालक समिति ९ सदस्यीय बनाउने प्रस्ताव पनि अघि सारिएको छ।

विद्यमान कानुनी व्यवस्थाअनुसार गभर्नरले रिक्त डेपुटी गभर्नर पदको दोब्बर संख्यामा सिफारिस गर्ने र सो सूचीबाट मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ। हाल दुई डेपुटी गभर्नर पद रिक्त हुँदा एक जनाको मात्र नियुक्ति गरिएको छ भने अर्को पद अझै खाली रहेको छ।

यही पृष्ठभूमिमा सांसदहरूले डेपुटी गभर्नरको संख्या बढाएर तीन पुर्‍याउने गरी संशोधन अघि सारेका हुन्।