टीकापुर। मगर समुदायको संस्कृति र परम्परासँग जोडिएको भूमे पर्व (भूमिदेवता पूजा) टीकापुरमा उत्साहपूर्वक मनाइएको छ। पर्वमा सहभागी हुन दाङदेखि कैलालीसम्मका मगर समुदायका अगुवा तथा सर्वसाधारण टीकापुर पुगेका छन्।
नेपाल मगर सङ्घ टीकापुरको आयोजनामा भएको कार्यक्रममा भूमे पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो। मगर समुदायले भूमि, प्रकृति र कृषि उत्पादनप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष यो पर्व मनाउने परम्परा रहेको छ।
मगर समुदायका अगुवा धर्मराज घर्ती मगरका अनुसार भूमे पर्वमा राम्रो बाली उत्पादन, सुख–समृद्धि तथा प्राकृतिक विपत्तिबाट सुरक्षाको कामना गर्दै भूमि पूजा गरिन्छ।
“आज बिहानै सबै जना एकै ठाउँमा जम्मा भएर भूमि पूजा गरेका छौँ। प्राकृतिक विपत्तिबाट जोगिन र समाजमा सुख–समृद्धि कायम होस् भन्ने कामना गरिएको छ,” उनले बताए।
नेपाल मगर सङ्घ टीकापुरका कार्यवाहक अध्यक्ष दिलु घर्ती मगरले पर्वको पहिलो दिन भूमि पूजासहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार मगर समुदायका परम्परागत नाचगान, भेषभूषा तथा गरगहना प्रदर्शन गरी नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने प्रयास गरिएको छ।
दाङबाट कार्यक्रममा सहभागी हुन आएका आशबहादुर जिगमले दैविक प्रकोपबाट बच्न तथा सामुदायिक एकता बलियो बनाउन भूमे पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताए।
सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पर्वले प्रकृतिप्रतिको सम्मान, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे। उनले भूमि मानव जीवनको आधार भएकाले त्यसप्रति सम्मान व्यक्त गर्ने परम्परा अनुकरणीय रहेको बताए।
कार्यक्रममा टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विक, नेपाल मगर सङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष दलबहादुर घर्ती मगर, जिल्ला अध्यक्ष वीरेन्द्र थापा मगर, रमेश थापा मगर, कमल पुन मगरलगायतले भूमे पर्वको महत्वबारे मन्तव्य राखेका थिए।
भूमे पर्व अन्तर्गत आज पनि विभिन्न सांस्कृतिक तथा सामुदायिक कार्यक्रमका साथ पर्व समापन गरिने आयोजकले जनाएको छ।








