काठमाडौं । नेपालको डिजिटल भुक्तानी तथा वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) भिसाको ‘ग्लोबल रजिस्ट्री अफ सर्भिस प्रोभाइडर्स’मा आधिकारिक रूपमा ‘एक्सेस कन्ट्रोल सर्भर (ACS) सर्भिस प्रोभाइडर’ का रूपमा सूचीकृत भएको छ। यो उपलब्धिसँगै एससीटीले नेपालको डिजिटल भुक्तानी सुरक्षालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएको मानिएको छ। 

कम्पनीले पेमेन्ट कार्ड इन्डस्ट्री (पीसीआई) मापदण्डअनुसार प्रमाणित ‘थ्री–डी सेक्योर’ प्रणाली सफलतापूर्वक कार्यान्वयन गरेपछि भिसाबाट यो मान्यता प्राप्त गरेको हो। भिसाको ग्लोबल रजिस्ट्रीमा सूचीकृत हुनका लागि सेवा प्रदायकले सुरक्षा, विश्वसनीयता, डेटा संरक्षण तथा प्रमाणीकरण सम्बन्धी कडा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्ने हुन्छ 

ADVERTISEMENT

एससीटीको यो मान्यताले कम्पनीले कार्डमा आधारित डिजिटल कारोबारका लागि आवश्यक सुरक्षि प्रमाणीकरण सेवा अन्तर्राष्ट्रिय स्तरअनुसार उपलब्ध गराउन सक्षम रहेको पुष्टि गरेको छ। यसलाई नेपालको डिजिटल भुक्तानी पूर्वाधार विकासमा एक महत्वपूर्ण  उपलब्धिका रूपमा हेरिएको छ।

ADVERTISEMENT

विशेषगरी, यो उपलब्धिले नेपालभित्रैबाट विश्वस्तरीय कार्ड प्रमाणीकरण सेवा सञ्चालन गर्न सकिने आधार तयार गरेको छ। हालसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरूले यस्ता सेवाका लागि विदेशी कम्पनी तथा अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूमाथि निर्भर रहनुपर्ने अवस्था थियो। त्यसक्रममा कार्ड प्रयोगकर्ताको प्रमाणीकरणसम्बन्धी संवेदनशील डेटा तथा सुरक्षा प्रक्रिया देशबाहिर रहेका सर्भर तथा प्लेटफर्ममार्फत सञ्चालन हुने गरेको थियो।

एससीटीको एसीएस सेवा भिसाबाट प्रमाणित भएपछि नेपाली बैंक तथा वित्तीय संस्थाहरूले अब देशभित्रैबाट सञ्चालन हुने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र प्रमाणीकरण सेवा प्राप्त गर्न सक्ने भएका छन्। यसले वित्तीय संस्थाहरूलाई डेटा माथिको  नियन्त्रण क्षमता बढाउनुका साथै डेटा सोभरेन्टी सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

डिजिटल बैंकिङ, ई–कमर्स तथा कार्ड कारोबारको विस्तारसँगै साइबर सुरक्षा र ग्राहक प्रमाणीकरणको महत्व बढिरहेका बेला एससीटीको यो उपलब्धिले नेपाली डिजिटल वित्तीय प्रणालीलाई थप सुरक्षित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ। थ्री–डी सेक्योर प्रणालीले अनलाइन कार्ड कारोबारका क्रममा अतिरिक्त प्रमाणीकरण तह थप्ने भएकाले डिजिटल ठगी तथा अनधिकृत कारोबारको जोखिम न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ।

भिसाको विश्वव्यापी सूचीमा सूचीकृत भएसँगै एससीटीले केवल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र होइन, विश्वभरका भिसा सदस्य संस्था तथा वित्तीय संस्थाहरूलाई समेत एसीएस सेवा उपलब्ध गराउन सक्नेछ। यसले नेपालको प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीमा प्रवेश गराउने महत्वपूर्ण अवसर सिर्जना गरेको छ।

यस उपलब्धिले नेपाल केवल डिजिटल भुक्तानी सेवा उपभोग गर्ने मुलुक मात्र नभई अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षासम्बन्धी सेवा निर्यात गर्न सक्ने क्षमता भएको मुलुकका रूपमा समेत स्थापित हुन थालेको संकेत दिएको छ। विश्वका विभिन्न मुलुकका वित्तीय संस्थाहरूले प्रयोग गर्न सक्ने सेवा नेपालबाट विकास र सञ्चालन हुन सक्नु नेपाली फिनटेक उद्योगका लागि ठूलो उपलब्धि मानिएको छ।

एससीटीको यो सफलता नेपालको डिजिटल वित्तीय पूर्वाधारमा भइरहेको क्रमिक सुधार र स्वदेशी प्रविधि कम्पनीहरूको बढ्दो क्षमताको उदाहरण पनि हो। पछिल्ला वर्षहरूमा डिजिटल भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कारोबार तथा अनलाइन वित्तीय सेवाहरू तीव्र रूपमा विस्तार भइरहेका बेला स्थानीय प्रविधि कम्पनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रविधि विकास गर्न थालेका छन्।

भिसाबाट प्राप्त यो मान्यताले नेपाली प्रविधि कम्पनीहरू सुरक्षा, नवप्रवर्तन, विश्वसनीयता तथा सेवा गुणस्तरका दृष्टिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम रहेको सन्देश दिएको छ। साथै, यसले नेपालको डिजिटल अर्थतन्त्रलाई थप आत्मनिर्भर, सुरक्षित र विश्वव्यापी रूपमा जोडिएको बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

डिजिटल भुक्तानी सुरक्षामा विश्वव्यापी मान्यता प्राप्त गर्दै एससीटीले हासिल गरेको यो सफलता नेपालका लागि केवल संस्थागत उपलब्धि मात्र नभई राष्ट्रिय डिजिटल वित्तीय पूर्वाधारको परिपक्वताको संकेतका रूपमा समेत हेरिएको छ।