काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको माहोल तात्न थालेसँगै राजधानी काठमाडौंमा पनि विश्वकपको झल्को दिने विशेष फुटसल प्रतियोगिता सुरु भएको छ।
सामाजिक सञ्जाल प्लेटफर्म रुटिन अफ नेपाल बन्द (आरओएनबी) द्वारा आयोजित ‘५ ए साइड ओपन फुटसल प्रतियोगिता’ बिहीबारदेखि पेप्सीकोलामा सुरु भएको हो।
प्रतियोगिताको मुख्य आकर्षण भनेको यसलाई फिफा विश्वकपकै शैलीमा सञ्चालन गरिएको छ। प्रतियोगितामा सहभागी ४८ टोलीले फिफा विश्वकपमा सहभागी हुने विभिन्न देशहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका छन्। ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन र जर्मनीलगायत चर्चित फुटबल राष्ट्रका नाममा टोलीहरू मैदान उत्रिएका छन्।
आयोजकका अनुसार समूह चरणदेखि नकआउट चरणसम्मका खेलहरू विश्वकपकै ढाँचाअनुसार सञ्चालन गरिनेछ, जसले खेलाडी र दर्शकलाई विश्वकपकै अनुभूति दिलाउने विश्वास लिइएको छ।
प्रतियोगितामा कुल ४८ टोलीको सहभागिता रहेको छ। विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगितामा सहभागिता जनाउन प्रत्येक टोलीबाट २० हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको थियो।
बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ। आयोजकले प्रतियोगिताले फुटबलप्रेमीहरूमा विश्वकपको उत्साह थप बढाउनुका साथै स्थानीय स्तरमा फुटबल संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरेको छ।










