काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको ‘एक पाइला वातावरणको लागि कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।
डोको फाउन्डेसनद्वारा संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा आयोजित कार्यक्रममा काठमाडौं र पोखरामा गरी करिब एक हजार सहभागी एकसाथ वातावरण संरक्षण र दिगोपनाको सन्देशका लागि सहभागी बने।
६ किलोमिटरको यो दौड केवल खेलकुद कार्यक्रम मात्र नभई वातावरणीय चेतना, जलवायु कार्य र सामुदायिक सहभागितालाई जोड्ने साझा अभियानको रूपमा स्थापित भएको डोको फाउन्डेसनले जनाएको छ । कार्यक्रममा युवा, परिवार, कलाकार, विभिन्न क्षेत्रका पेसाकर्मी तथा वातावरणप्रति सचेत नागरिकहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रमको विशेष आकर्षणमध्ये कला र फोहोर व्यवस्थापनलाई सिर्जनात्मक रूपमा जोडिएको प्रस्तुति रह्यो। पुनःप्रयोग गरिएका सामग्रीबाट तयार गरिएका कला संरचना, सहभागी संवाद क्षेत्र तथा सचेतनामूलक गतिविधिहरूले वातावरणीय जिम्मेवारीलाई नयाँ ढंगले प्रस्तुत गरे। कार्यक्रमका विभिन्न सामग्रीहरूमा पुनःप्रयोग र दिगोपनालाई प्राथमिकता दिइएको थियो, जसअन्तर्गत सहभागीलाई प्रदान गरिएको पदक स्थानीय स्तरमै पुनःप्रयोग गरिएको प्लास्टिकबाट तयार गरिएको थियो।
काठमाडौं र पोखरामा एकसाथ भएको सहभागिताले वातावरणीय जिम्मेवारी र सामूहिक चेतनाको सकारात्मक सन्देश प्रवाह गरेको फाउन्डेसनले जनाएको छ। दुई सहरलाई एउटै उद्देश्यमा जोड्न सफल यस अभियानले वातावरणीय विषयमा बढ्दो जनचासो र सहभागितालाई पनि प्रतिबिम्बित गरेको छ।
कार्यक्रमलाई सफल बनाउन संयुक्त राष्ट्रसंघ, फोनपे, इसेवा, एवानसफ्ट तथा एएसीएको महत्वपूर्ण सहयोग थियो। डोको फाउन्डेसनले कार्यक्रममा सहभागी सम्पूर्ण धावक, स्वयंसेवक, साझेदार संस्था, कलाकार तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै वातावरणीय परिवर्तन सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गरेको छ।








