काठमाडौँ । कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ गरेका छन् ।

इस्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरेनरी साइन्स नामक कृत्रिम व्यवसाय खोलेर कर्जा दुरुपयोग गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । पाण्डेलाई उच्च अदालत पाटन ललितपुरबाट पक्राउ पुर्जी जारी गर्दै धनुषा छिरेश्वरनाथ–१ रमदैयाबाट सीआईबीले पक्राउ गरेको थियो ।

ADVERTISEMENT

विस्तृत परियोजना प्रतिवेदन डीपीआरबिना धितोको अस्वाभाविक मूल्यांकन गरी उनले प्रभु बैंकबाट कर्जा लिँदै दुरुपयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
एक प्रयोजनका लागि लिइएको कर्जा पाण्डेले अर्को प्रयोजनमा प्रयोग गरेका थिए ।

पाण्डे जानकी मेडिकल कलेजका अध्यक्षसमेत हुन् । कलेजको वेबसाइटमा उल्लेख भए अनुसार, यो मेडिकल कलेजलाई जानकरी हेल्थ फाउन्डेसनले चलाउँदै आएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको यो मेडिकल कलेज सन् २००३ मा स्थापना भएको थियो ।

‘उनले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेनरी साइसेन्स प्रालि नामक कृत्रिम व्यवसायी खडा गरेर डीपीआरबिनै, धितोको अस्वाभाविक रुपमा बढी मूल्यांकन गराएर कर्जा लिएको देखिएको छ,’ एसएसपी शिवकुमार श्रेष्ठले भने, ‘प्रभु बैंक लिमिटेडबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो, त्यसमा नलिई अन्यत्र प्रयोग गरेर पटकपटक कर्जा दुरुपयोग गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्नता देखिएकाले अनुसन्धान थालेका छौं ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।