काठमाडौं । भारतले नेपालसँगको सीमा विवादको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसद्मा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ भन्ने अभिव्यक्तिपछि भारतले मंगलबार औपचारिक धारणा सार्वजनिक गरेको हो ।

भारतको विदेश मन्त्रालयले नेपाल–भारत सीमासम्बन्धी विवादमा तेस्रो पक्ष (मुलुक) को कुनै भूमिका नरहेको बताएको छ । मंगलबार नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले नेपाल र भारतबीचको सीमा विवाद हलको प्रयास भइरहेको बताएका हुन् ।

ADVERTISEMENT

‘सीमासम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौँ । सबै सम्बन्धित भारत र नेपालबीच जे जति द्विपक्षीय मामिला छन्, यसमा कुनै तेस्रो पक्षको भूमिका छैन,’ उनले भने ।

प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिबारे भारतीय पत्रकारहरूले सोधेको प्रश्नको उत्तरमा प्रवक्ता जयसवालले तेस्रो पक्षको भूमिका नकारेका हुन् । प्रधानमन्त्री शाहले लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका थिए ।

‘हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरी इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो सबै कुराहरू टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु,’ उनले भनेका थिए ।

भारतले नेपालसँगको सीमा विवाद ९८ प्रतिशत टुंगिसकेको र गण्डक नहरले धार परिवर्तन गर्दा केही ठाउँमा समस्या रहेको स्वीकार गरेको छ । भारतकाे याे भनाइसँगै दुई देशबीचकाे सीमा विवादबारे तयार इपिजी प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले बुझ्ने अनुमान गरिएकाे छ ।