काठमाडौं । नेपाल-भारत सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेपछि मंगलबारको बैठक स्थगित गएको छ । जेठ २५ गतेसम्मलाई बैठक स्थगित भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

निर्धारित समयभन्दा दुई घण्टा पछि बसेको बैठक विपक्षको विरोधपछि केही समयमै स्थगित भएको हो ।

ADVERTISEMENT

निरन्तर संसद अवरुद्ध भएपछि मंगलबारका लागि तय भएका दुईवटा कार्यसूचीमा रहेका दुईवटा कार्यक्रम हटाएको जानकारी दिँदै सभामुखले बैठक स्थगित भएको घोषणा गरे ।
प्रधानमन्त्री शाहले भारतले मात्र नभएर नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ भनेर संसदमै अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्ति अहिले विवादित बनेको छ । सोमबारको बैठक पनि यही कारण अवरुद्ध बनेको थियो ।

बैठक सुरु हुना साथ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्रधानमन्त्री बालेन शाहको हाजिरी खोजे । प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनुपर्ने व्यवस्था छ । हर्कले बालेनले हाजिरी गरेका छन् वा छैनन् भन्दै नगरेको भए सांसद पदबाट स्वतः मुक्त हुने दाबी गरे ।