भक्तपुर । भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता शुक्रबारदेखि सूर्यविनायक नगरपालिकामा सुरु भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने भएको छ।
प्रतियोगिताको उद्घाटन सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले स्थानीय तहबाट खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै नगरपालिकाले वार्षिक खेलकुद कार्यक्रम सञ्चालन गरिरहेको बताए।
उनका अनुसार नगरपालिकाले दीर्घकालीन रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रत्येक महिनामा कम्तीमा एक खेल प्रतियोगिता आयोजना गर्दै आएको छ। फुटबल प्रशिक्षणदेखि विभिन्न विधाका प्रतियोगिता सञ्चालन गरेर युवालाई खेलकुदप्रति आकर्षित गर्ने प्रयास भइरहेको उनले बताए।
सापकोटाले बुद्धिचाल खेलले मानसिक क्षमता, तार्किक सोच तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै स्थानीय स्तरमा खेलाडी पहिचान र प्रतिभा विकासका लागि यस्ता प्रतियोगिताले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाका अनुसार प्रतियोगितामा भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका ६६ जना खेलाडी सहभागी भएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने खेलाडीले १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार रुपैयाँ, तेस्रो हुनेले ५ हजार रुपैयाँ तथा चौथो र पाँचौँ हुने खेलाडीले जनही ३–३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। महिला तथा पुरुष दुवै विधाका खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सदस्य सचिव थापाले प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर पाउने जानकारी दिए।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लामा बुद्धिचाल खेलको विकास, नयाँ प्रतिभाको खोजी तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहको सक्रियतामा आयोजना गरिएको यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकको विश्वास छ।








