काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिने भएका छन् । सभापति शेरबहादुर देउवासँग शनिबार बूढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार भएका हुन् ।

देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको छ ।

‘हामीले तीनजना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ । यसमा सहमति जनाउनुभयो,’ सांसद रामकृष्ण चित्रकारले भने, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो ।’

आइतबार हेटौंडामा मन्त्रीपरिषद बैठकपछि पत्रकार सम्मेलन गरे लामाले राजीनामा दिने भएका छन्। मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो ।

देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।