काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयबाट विभिन्न महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो डीडीसी कार्यालय पुगेको सीआईबीको टोलीले संस्थानको दूध संकलन, प्रशोधन तथा उत्पादनसँग सम्बन्धित पुराना प्रगति विवरणहरू संकलन गरेको हो ।
संस्थानका एक कर्मचारीका अनुसार सीआईबीले संस्थानको समग्र दूध संकलन र उत्पादन अवस्थाबारे चासो देखाउँदै आवश्यक कागजातहरू मागेको थियो ।
ती कर्मचारीले यसलाई ‘छापा’को रूपमा नभई आवश्यक विवरण बुझ्नका लागि गरिएको प्रक्रिया भएको बताएका छन् ।
स्रोतका अनुसार टोलीले मुख्य रूपमा दूध संकलन र प्रशोधनको प्रगति विवरणसँग सम्बन्धित कागजातहरूमा मात्र चासो देखाएको थियो । अन्य विषयमा भने सोधपुछ नगरिएको बताइएको छ ।
सीआईबीले ती कागजातहरू कुन प्रयोजनका लागि नियन्त्रणमा लिएको हो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तर, डीडीसीको पुराना उत्पादन तथा व्यवस्थापन विवरणमाथि अनुसन्धान सुरु भएको बुझिएको छ ।








