काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा, नेपाली सेनाको आधुनिकीकरण तथा कल्याणकारी गतिविधिसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार कार्यक्रममा सेनाले स्थापनाकालदेखि निर्वाह गर्दै आएको जिम्मेवारी, महत्वपूर्ण कार्य तथा समसामयिक राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा समीक्षा गरिएको थियो ।
कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण र क्षमता विकासका लागि अग्रज नेतृत्वबाट प्राप्त प्रेरणा तथा योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।
उनले राष्ट्र र संस्थाप्रति समर्पित पूर्वरथीहरूको अनुभव, सुझाव र मार्गदर्शनले सेनालाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाली सेनाले यस्ता कार्यक्रमले सेवारत तथा अवकाशप्राप्त सैनिकबीच सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । साथै, प्राप्त सुझाव र अनुभवले राष्ट्रिय हित तथा सुरक्षा सुदृढीकरणमा सहयोग पुग्ने सेनाको भनाइ छ ।
नेपाली सेनाले विज्ञप्तिमार्फत यस्ता अन्तरक्रिया कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।








