जलेश्वर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्। मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे विभिन्न राजनीतिक चर्चा भइरहेका बेला थापाले कांग्रेस नेतृत्वकै सरकार कायम रहने स्पष्ट संकेत गरेका हुन्।

महोत्तरीको बर्दिबासमा आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ तथा ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेशमा कांग्रेसको नेतृत्व कमजोर नहुने दाबी गरे। उनले प्रदेश सरकार सञ्चालनमा कांग्रेसको भूमिका अझ सशक्त हुने बताए।

ADVERTISEMENT

थापाले पार्टी संगठनलाई केवल चुनाव केन्द्रित संरचनामा सीमित नराखी सामाजिक आन्दोलन र जनताका मुद्दासँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिए। उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई जनताको दैनिक समस्या, सामाजिक मुद्दा र स्थानीय सरोकारसँग जोडिएर काम गर्न निर्देशन दिएका छन्।

उनका अनुसार अहिलेको राजनीतिक अवस्थामा पार्टीहरू जनताबाट टाढिँदै गएको आरोप लागिरहेका बेला कांग्रेसले आफूलाई पुनः जनआधारित शक्ति बनाउने दिशामा अघि बढ्न आवश्यक छ। उनले पार्टीभित्रको आन्तरिक संरचना बलियो बनाउन, स्थानीय तहमा संगठन सक्रिय बनाउन र जनतासँग प्रत्यक्ष संवाद बढाउनुपर्ने बताए।

सभापति थापाले कांग्रेस अब केवल सरकार सञ्चालनमा सीमित नभई सामाजिक उत्तरदायित्व बोकेको राजनीतिक शक्ति बन्नुपर्ने धारणा राखे। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र विकासका मुद्दालाई कांग्रेसको प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। भेलामा संगठन विस्तार, स्थानीय तहमा पार्टीको अवस्था, आगामी रणनीति तथा मधेस प्रदेशको राजनीतिक समीकरणबारे समेत छलफल गरिएको जनाइएको छ।

‘जरा अभियान’मार्फत कांग्रेसले तल्लो तहसम्म संगठन सुदृढ गर्ने, नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने र जनसम्पर्क विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ। कांग्रेस नेतृत्वले पछिल्लो समय विभिन्न प्रदेशमा संगठन पुनर्संरचना र कार्यकर्ता केन्द्रित कार्यक्रमलाई तीव्रता दिइरहेको छ।

मधेस प्रदेशमा सरकारको नेतृत्व र गठबन्धन समीकरणबारे राजनीतिक दलहरूबीच निरन्तर छलफल भइरहेका बेला सभापति थापाको यो अभिव्यक्तिलाई महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।