काठमाडौं । कांग्रेसले आदिवासी, जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन हुनेगरी पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीका उपसभापति पुष्पा भुसालले प्रतिबद्धता जनाएकी हुन् ।

भुसालले नेपालको संविधानले नै आदिवासी जनजातिहरूको प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरेकाले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि कांग्रेसले संसदभित्र र बाहिर पहल गर्ने बताइन् ।

ADVERTISEMENT

कांग्रेसले संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउन गइरहेको उल्लेख गर्दै त्यसमा आदिवासी जनजातिहरूको अधिकारको सवाललाई गम्भीरतापूर्वक अघि बढाउने आश्वासनसमेत उनले दिइन्।

ADVERTISEMENT

त्यस अवसरमा अडान पत्रका बारेमा स्पष्ट पार्दै नेफिनका अध्यक्ष निमा लामा ह्योल्मोले विगतदेखि नै समावेशी सिद्धान्त अवलम्बन आएको पार्टीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT

नेपालको आदिवासी जनजातिहरूको हक अधिकार सुनिश्चित गर्नका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गर्न अनुरोध गर्दै अध्यक्ष लामाले भनिन्, ‘०७२ सालको नेपालको संविधानले आदिवासी जनजातिहरूको थुप्रै अधिकार लिपिबद्ध भएका छन्। संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन गर्ने अवस्थामा अहिले रहेकाले संविधान कार्यान्वयन र अहिलेको विशेष परिस्थितिमा नेपाली कांग्रेस पार्टी र संसदीय दललाई विशेष आग्रह गर्न चाहन्छु। प्रधानमन्त्रीज्यूको सल्लाहकारको संयोजकत्वमा संविधान संशोधनका लागि समिति गठन भएको छ।’

अडानपत्र प्रस्तुत गर्दै नेफिनका महासचिव विमल सारुमगरले आदिवासी जनजातिहरूको मुद्दालाई गम्भीरतापूर्वक अघि बढाउन राजनीतिक दल र सरकारलाई आफूहरूको अडान र माग राखिएको बताइन् । पछिल्लो समय सरकारले जारी गरेको अध्यादेशमार्फत आदिवासी जनजाति उत्थान प्रतिष्ठानभित्रको सञ्चालक परिषद्हरू पनि गएको भन्दै तर अन्य संस्था जस्तो प्रतिष्ठानमा भने राजनीतिक दलले प्रतिनिधि नपठाउने उनले बताए।