काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्म जयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ।नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा आगामी मे १ तारिख शुक्रबार राजधानी लिस्बनमा विशेष समारोहसहित बुद्ध जयन्ती मनाउन लागिएको हो।
आयोजकका अनुसार लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनुका साथै बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचन कार्यक्रम सञ्चालन हुनेछ।महासंघका अध्यक्ष चोपकुमार रानामगरका अनुसार बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देशलाई विश्वभर फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थल नेपालको प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उनले पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई बुद्ध जयन्तीलाई भव्य रूपमा सफल बनाउन आग्रह गरेका छन्।पोर्चुगलमा हरेक वर्ष विभिन्न नेपाली संघसंस्थाको समन्वयमा बुद्ध जयन्ती मनाउने परम्परा रहँदै आएको छ। यस वर्षको कार्यक्रम पनि नेपाली समुदायबीच धार्मिक तथा सांस्कृतिक एकता अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
विदेशमा रहेका नेपाली समुदायले बुद्ध जयन्तीजस्ता सांस्कृतिक तथा धार्मिक पर्व मनाउँदै नेपाली पहिचान र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएका छन्।








