काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ। एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाइ गरेको हो।
टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतो छन्। टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सिमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री छन् ।
वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ। एसियन गेम्स क्वालिफायर मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ। दुबै प्रतियोगिता मलेसियामा हुनेछ।
एसियन गेम्सका लागि आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन्। बाँकी चार टोली छनोट हुन बाँकी छ । यसैको लागि नेपालले छनोट प्रतियोगिता खेल्न लागेको हो।










