बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको हालै सम्पन्न चीन भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन पनि चीनको राजकीय भ्रमणमा जाने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको निमन्त्रणामा पुटिनले जेठ ५ र ६ गते चीन भ्रमण गर्ने कार्यक्रम रहेको चिनियाँ विदेश मन्त्रालयले शनिबार औपचारिक रूपमा घोषणा गरेको हो।

भूराजनीतिक तनाव बढिरहेका बेला हुन लागेको यो भ्रमणलाई अन्तर्राष्ट्रिय राजनीति र विश्व शक्ति सन्तुलनका दृष्टिले निकै महत्वपूर्ण रूपमा हेरिएको छ। विशेषगरी अमेरिका, चीन र रुसबीच बदलिँदो सम्बन्ध तथा विश्वव्यापी शक्ति प्रतिस्पर्धाको सन्दर्भमा पुटिनको बेइजिङ यात्रा अर्थपूर्ण मानिएको छ।

ADVERTISEMENT

क्रेमलिनका अनुसार भ्रमणका क्रममा पुटिन र सी जिनपिङबीच “समग्र साझेदारी र रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने” विषयमा विस्तृत वार्ता हुनेछ। दुवै नेताले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा धारणा आदानप्रदान गर्नुका साथै विभिन्न सहकार्यसम्बन्धी संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

भेटवार्ताका मुख्य एजेन्डामा द्विपक्षीय व्यापार विस्तार, ऊर्जा सहकार्य, शिक्षा तथा प्रविधि आदानप्रदान, ब्रिक्स र एससीओजस्ता बहुपक्षीय संगठनभित्र समन्वय बढाउने विषय रहने जनाइएको छ। विश्व राजनीतिक अस्थिरता र पश्चिमी मुलुकसँग बढ्दो तनावबीच चीन–रुस सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले दुवै देश रणनीतिक रूपमा नजिकिएको विश्लेषण गरिएको छ।

भ्रमणका क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली छ्याङ सँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशबीच आर्थिक साझेदारी, पूर्वाधार, ऊर्जा आपूर्ति र दीर्घकालीन सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

यो भ्रमण चीन–रुसबीच भएको “मैत्री तथा असल छिमेकी सम्बन्ध सन्धि” को २५औँ वर्षगाँठसँग पनि जोडिएको छ। सन् २०२२ मा दुवै देशले “नो लिमिट्स पार्टनरशिप” घोषणा गरेपछि चीन र रुसबीचको सम्बन्ध अझ घनिष्ठ बन्दै गएको छ। विशेषगरी युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धको सामना गरिरहेको रुसका लागि चीन महत्वपूर्ण आर्थिक तथा कूटनीतिक साझेदार बनेको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको चीन भ्रमणपछि तुरुन्तै पुटिनको बेइजिङ यात्रा हुनुले चीनले अमेरिका र रुस दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्दै आफूलाई विश्व कूटनीतिक केन्द्रका रूपमा स्थापित गर्न खोजेको संकेत दिएको छ। पछिल्लो समय ताइवान मुद्दा, युक्रेन युद्ध, इरान संकट तथा विश्व व्यापार तनावका बीच बेइजिङले बहुध्रुवीय विश्व व्यवस्थामा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अघि बढाइरहेको छ।

यो भ्रमणले चीन–रुस सम्बन्धलाई थप गहिरो बनाउने मात्र होइन, अमेरिका–चीन–रुसबीचको त्रिकोणीय शक्ति समीकरणमा पनि नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।