पोखरा । गगनकुमार थापा ले सरकारले निजी क्षेत्र र सर्वसाधारणमाथि गरेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले संविधान र कानुनको सीमा मिचेर शासन चलाउन खोजिए नेपाली कांग्रेस ले त्यसलाई रोक्ने चेतावनी दिएका छन्।

पोखरामा बिहीबार आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै थापाले सरकारले निजी क्षेत्रका व्यक्तिहरूलाई प्रक्रिया र कानुन मिचेर प्रहरी लगाएर उठाउने गरेको आरोप लगाए।

ADVERTISEMENT

“नियम र कानुनले सबैलाई बाँध्नुपर्छ। तर सरकारले जसलाई मन लाग्यो उसलाई उठाउने र त्रसित बनाउने काम गरिरहेको छ,” उनले भने।उनले कसैसँग कुरा गर्न मन लाग्दैमा वा आवश्यक पर्दैमा मन्त्रीले प्रहरी परिचालन गरेर मानिस उठाउनु अलोकतान्त्रिक अभ्यास भएको बताए।

थापाले वर्तमान सरकारले संविधान र कानुनको सीमाभन्दा बाहिर गएर शासन सञ्चालन गर्न खोजेको आरोप लगाउँदै लहड र सनकका आधारमा मुलुक चल्न नसक्ने स्पष्ट पारे।“प्रधानमन्त्री ईश्वर होइनन्, उहाँ पनि नियम र कानुनमा बाँधिनुपर्छ,” उनले भने।

सीमाक्षेत्रमा १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा गरिएको कडाइप्रति पनि उनले असन्तुष्टि जनाए। यसले सीमावर्ती क्षेत्रका नागरिकले अनावश्यक दुःख पाएको उनको भनाइ थियो।“वर्षौंदेखि जीविका चलाइरहेका नागरिकलाई सास्ती दिन पाइँदैन,” उनले भने।

थापाले कांग्रेस सरकारमा नभए पनि नागरिकलाई सहजता दिलाउने र सरकारलाई प्रश्न गर्ने जिम्मेवारी आफ्नो पार्टीको रहेको बताए।प्रतिनिधिसभा निर्वाचनबारे बोल्दै उनले कांग्रेस भौतिक रूपमा नभई डिजिटल स्पेसमा चुनाव हारेको टिप्पणी गरे। पार्टीसँग पर्याप्त कन्टेन्ट भए पनि त्यसलाई जनतासम्म पुर्‍याउने आवश्यक डिजिटल संरचना अभावका कारण अपेक्षित परिणाम हासिल गर्न नसकिएको उनको भनाइ थियो।

स्थानीय तह निर्वाचनको तयारीबारे उनले वडाध्यक्ष उम्मेदवार केन्द्रले नभई सम्बन्धित वडाका सक्रिय सदस्यहरूको रायका आधारमा चयन गरिने बताए।उनले डिजिटल माध्यमबाटै सक्रिय सदस्यहरूको सुझाव संकलन गरिने जानकारी दिए।

थापाले मुलुकलाई कठिन संघर्षपछि संवैधानिक स्थिरतामा ल्याइएको उल्लेख गर्दै यसलाई कमजोर बनाउने कुनै प्रयास स्वीकार्य नहुने बताए।कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको उक्त प्रादेशिक भेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका अगुवा नेताहरूको सहभागिता रहेको थियो।