चितवन । जिल्लाका सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूलाई सेवा सुधार गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालका व्यवस्थापक तथा सञ्चालकहरूसँगको बैठकमा स्वास्थ्य सेवामा देखिएका कमजोरी सुधार गर्न आग्रह गरेका हुन् ।
बैठकमा उनले बिरामीप्रति चिकित्सकहरूले संवेदनशील व्यवहार गर्नुपर्नेमा जोड दिँदै अस्पतालको विधि र मापदण्डभित्र रहेर सेवा प्रवाह गर्न निर्देशन दिए । चिकित्सकहरूको व्यवहार असन्तोषजनक भएको, डायलासिसजस्ता सेवा दर्ता नगरी सञ्चालन गरिएको, एम्बुलेन्समार्फत बिरामी ल्याउँदा कमिसन दिने प्रचलन रहेको तथा अस्पतालजन्य फोहोर व्यवस्थापन कमजोर रहेको उनले औंल्याए ।
‘बिरामीको मृत्यु हुँदा आँसु झार्नु मात्रै होइन, चिकित्सक संवेदनशील हुनुपर्छ,’ उनले भने । बीमा र नगदका बिरामीबीच विभेद हुने, अनावश्यक परीक्षण गरिने, विपन्न र ज्येष्ठ नागरिकले सुविधा नपाउनेजस्ता समस्या पनि रहेको उनको भनाइ थियो ।
यस्तै, कर्मचारीले तोकिएको सेवा–सुविधा नपाउने, सरकारी अस्पतालको टोकन प्रणाली प्रभावकारी नभएको, बहिरङ्ग सेवामा जनशक्ति व्यवस्थापन कमजोर रहेको तथा रिफरल प्रणाली व्यवस्थित नभएको उनले उल्लेख गरे । ‘अस्पतालहरूको सेवाको गुणस्तर सुधार्न व्यवहार र कार्यशैली परिवर्तन गर्नैपर्छ,’ उनले जोड दिए ।
जिल्ला प्रशासन कार्यालय चितवन र जनस्वास्थ्य कार्यालयले आयोजना गरेको ‘जिल्लामा नागरिक स्वास्थ्य सेवा विषयक परामर्श’ कार्यक्रममा विभिन्न अस्पतालका प्रतिनिधिहरूले आफ्ना समस्या र सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा सुधारका प्रयास भइरहेको जानकारी दिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले पनि अस्पताल सुधार भइरहेको बताउँदै बीमा तथा विपन्न वर्गको भुक्तानी समयमै उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले ऐनअनुसार काम कार्यान्वयनमा समस्या रहेको बताए भने निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीले निजी क्षेत्रको लगानीअनुसार राज्यको ध्यान नपुगेको गुनासो गरे ।
कार्यक्रममा निजी अस्पताल, क्लिनिक सञ्चालक तथा यातायात व्यवसायीहरूले पनि स्वास्थ्य सेवा सुधारका लागि सुझाव दिएका थिए ।

ADVERTISEMENT