काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ भने दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ ।
कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आजको बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन गर्नु हो । सहमतिको प्रयास भइरहे पनि अहिलेसम्म नेता चयन हुन सकेको छैन । यसअघि प्रक्रिया अघि बढाउन निर्वाचन तालिका सार्वजनिक गरिए पनि गत शुक्रबार अन्तिम समयमा स्थगित गरिएको थियो ।
आजको कार्यसम्पादन समिति बैठकमा सभापति गगनकुमार थापाले संसदीय दलको नेताको नाम घोषणा गर्ने तयारी गरिएको छ । उक्त नामलाई संसदीय दलको बैठकबाट अनुमोदन गराएर औपचारिक रूपमा टुंग्याउने योजना कांग्रेसको छ ।
कांग्रेस सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले सभापतिले घोषणा गरेको नामलाई प्रक्रिया पूरा गरेर निष्कर्षमा पुर्याइने बताए । महामन्त्री गुरूराज घिमिरेले पनि वर्तमान राजनीतिक परिस्थिति र पार्टीको अवस्थालाई मध्यनजर गर्दै सभापतिले निर्णय लिने बताएका छन् ।
कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि पहिलो पटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको हो ।
संस्थापनइतर समूहको आपत्ति
सभापति थापाले प्रत्यक्ष रूपमा नाम घोषणा गरेर नेता चयन गर्न खोजेको भन्दै संस्थापनइतर समूहले आपत्ति जनाएको छ । उक्त समूहले संसदीय दलको नेता चयन प्रक्रिया दलको विधानअनुसार प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा सांसदहरूले नै गर्नुपर्ने उल्लेख गरेको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत् वर्तमान प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै ढिलाइ र अन्योललाई दलको सार्वभौम अधिकारमाथिको हस्तक्षेपको परिणाम भएको बताएका छन् । उनले तत्काल प्रक्रिया पारदर्शी र विधिसम्मत बनाउन आग्रह गरेका छन् ।
कांग्रेस संसदीय दलको नेता चयन आज, थापाले नाम घोषणा गर्ने








