म्याग्दी। म्याग्दीको रणनीतिक महत्व बोकेको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण कार्य पछिल्लो समय सुस्त बनेको छ। दरवाङदेखि मुना हुँदै ढोरपाटन जोड्ने सडक स्तरोन्नतिको कामले गति नलिँदा स्थानीयवासीमा चिन्ता बढेको हो।
गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको साझेदारीमा सञ्चालन भइरहेको यस योजनाले अपेक्षित प्रगति गर्न सकेको छैन। मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मार्गका रूपमा हेरिएको यो सडक म्याग्दी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने महत्वपूर्ण संरचना मानिन्छ।
स्थानीय अगुवाका अनुसार पछिल्लो एक महिनादेखि निर्माण कार्य झनै सुस्त बनेको छ। यस आर्थिक वर्षमा २३ करोड रुपैयाँ बजेट रहेको भए पनि हालसम्म करिब पाँचदेखि छ करोड रुपैयाँ बराबरको मात्र काम भएको छ। ठेकेदार कम्पनीले मजदुर र उपकरणको सङ्ख्या घटाएर काम न्यून बनाएपछि योजना अलपत्र पर्ने जोखिम बढेको बताइएको छ।
यस योजनाअन्तर्गत दरवाङ–धारापानी (७ किलोमिटर) र मच्छिम–मुना (४ किलोमिटर) खण्डमा कालोपत्र र ढलान गरिनेछ। अक्सफाल्ट प्रविधिबाट निर्माण हुने यस सडकलाई जिल्लाकै ठूलो पूर्वाधार आयोजनाका रूपमा लिइएको छ।
प्रशासनिक खर्चबाहेक ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाका लागि ५२ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८२ असार ११ गते सम्झौता भएको यो योजना २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कम्पनी २०८२ कात्तिकदेखि कार्यक्षेत्रमा परिचालन भए पनि हालसम्म करिब १० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
कार्यालयका अनुसार पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको मूल्यवृद्धि नै निर्माण सुस्त हुनुको मुख्य कारण बनेको छ। इन्धनको मूल्य बढेपछि ढुवानी खर्च महँगो भएको र निर्माण सामग्रीको लागतसमेत बढ्दा ठेकेदारले कामको गति घटाएको हो। यसले समग्र बजेट खर्चमा समेत असर पारिरहेको छ।
यस योजनामा सङ्घीय र प्रदेश सरकारको ५०/५० प्रतिशत लागत साझेदारी रहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८२/०८३ मा २३ करोड २२ लाख रुपैयाँ बजेट छुट्याइएको छ। निर्धारित समयमा काम सम्पन्न नभए आगामी वर्षमा सङ्घीय बजेट नआउने र प्रदेश सरकारलाई थप व्ययभार पर्ने जोखिम रहेको छ।
दरवाङ–मुना–ढोरपाटन सडक निर्माण सम्पन्न भए म्याग्दी, बागलुङ र पूर्वी रुकुमका बासिन्दालाई पोखरा र काठमाडौँ आवतजावतमा करिब ५० किलोमिटर दूरी छोटो पर्नेछ। यसले आर्थिक गतिविधि, पर्यटन र स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसैबीच, सडकको अन्य खण्डमा पनि काम भइरहेको छ। धारापानीदेखि ताकम हुँदै झिनडाँडा खण्डको छ किलोमिटर सडक कालोपत्र, ढलान र ग्राभेलका लागि १४ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
निर्माण कम्पनीले भने मूल्यवृद्धिका बाबजुद योजना सम्पन्न गर्ने दाबी गरेको छ। मुना हुँदै मरेनी, जलजला र ढोरपाटन जोड्ने मार्ग खुलिसकेको छ भने बेनीदेखि तालावाङसम्म १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ।
रणनीतिक रूपमा महत्वपूर्ण मानिएको यो सडक समयमै सम्पन्न नभए क्षेत्रीय विकास, यातायात सुविधा र आर्थिक सम्भावनामा प्रत्यक्ष असर पर्ने भन्दै सरोकारवाला पक्षले कामको गति बढाउन दबाब दिएका छन्।






