काठमाडौं । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न तथा इच्छुक व्यक्तिहरूलाई लक्षित गर्दै देशका १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ। जुम्लाको सिँजा गाउँपालिकाबाट वैशाख ९ गतेदेखि सुरु भएको यो कार्यक्रम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा विस्तार गरिनेछ।
कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँग सहकार्य गर्दै सञ्चालन गरिने तालिममा करिब ५ सय सहभागीलाई समेट्ने लक्ष्य राखिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार तालिममा बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा, लगानीका विकल्प लगायतका विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिनेछ। यसले सहभागीहरूलाई आत्मनिर्भर बनाउन, नयाँ व्यवसायतर्फ आकर्षित गर्न र रोजगारी सिर्जनामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
तालिममा सहभागीहरूले बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ तथा तरकारी खेती जस्ता कृषि व्यवसायसँग सम्बन्धित प्राविधिक सीपका साथै बजार व्यवस्थापन र वित्तीय योजना बनाउने ज्ञान प्राप्त गर्नेछन्।
दिगो बैंकिङ अवधारणाअनुसार सञ्चालन गरिएको यस कार्यक्रमले वातावरणमैत्री र सामाजिक रूपमा जिम्मेवार लगानीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत् ग्रामीण क्षेत्रमा आत्मनिर्भरता र दिगो विकासमा योगदान दिँदै आएको जनाएको छ।






