काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दामा शुक्रबार साँझ बहस सम्पन्न भएको छ । बहस सकिएसँगै सर्वोच्चको आदेश आजै आउने अपेक्षा गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुई दिनदेखि बहस चलिरहेको थियो । शुक्रबार गगन थापा पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए । त्यसपछि रिट निवेदक शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीहरूले जवाफी बहस प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

जवाफी बहसपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले इजलासमा आफ्ना धारणा राखेका थिए । उनी दिनभर इजलासमै उपस्थित भई बहस सुनेका थिए ।

यसअघि बिहीबार देउवा पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए । सो दिन बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो र शुक्रबार बिहानदेखि पुनः सुनुवाइ अघि बढाइएको थियो ।

ADVERTISEMENT

गत पुसमा विशेष महाधिवेशनमार्फत् गगन थापा नेतृत्वमा गठन गरिएको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । सो निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।