काठमाडौं । बैंकिङ क्षेत्रको खुद मुनाफा स्थिर देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनाको अवधिमा बैंकिङ क्षेत्रको खुद मुनाफा गत आवको सोही अवधिको हाराहारीमा देखिनुले पनि खुद मुनाफा स्थिर देखिएको हो । चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा लघुवित्त वित्तीय संस्था र इन्फ्रास्ट्रक्चर बैंक बाहेक सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५४ वटा संस्थाहरुले कुल ४९ अर्ब तीन करोड ९० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७३ करोड २० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रको खुद मुनाफा ४८ अर्ब ३० करोड ७० लाख रुपैंयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनाको अवधिमा बाणिज्य बैंकहरुले मात्र कुल ४३ अर्ब ८८ करोड ५० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा नाफा गत आवको सोही अवधिको तुलनामा ३८ करोड ९० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाणिज्य बैंकहरुले कुल ४३ अर्ब ४९ करोड ६० लाख रुपैंयाँ खुद मुनाफा कमाएका थिए । बिकास बैंकहरुले मात्र भने चालु आवको पछिल्लो आठ महिनाको अवधिमा चार अर्ब ७८ करोड ७० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४५ करोड ५० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले मात्र कुल चार अर्ब ३३ करोड २० लाख रुपैंयाँ खुद मुनाफा कमाएका थिए ।
फाईनान्स कम्पनीहरुले भने चालु आवको फागुन मसान्तसम्ममा कुल ३६ करोड ७० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ११ करोड २० लाख रुपैंैयाँले कम हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले कुल ४७ करोड ९० लाख रुपैंयाँ खुद मुनाफा कमाएका थिए ।
बैंकिङ क्षेत्रले फागुन मसान्तसम्म कमाएको खुद मुनाफा (रकम रु १० लाखमा)

(श्रोतः नेपाल राष्ट्र बैंक)
नाफा घट्नुको मुल कारण निष्क्रिय कर्जा
बाणिज्य बैंक र बिकास बैंकहरुमा नाफा सामान्यरुपमा बढेको भएपनि फाईनान्स कम्पनीहरुको खुद मुनाफा घट्नुको पछाडिको मुल कारण भने निष्क्रिय कर्जा देखिएको छ । बाँणिज्य बैक र बिकास बैंकको तुलनामा फाईनान्स कम्पनीहरुको ठुलो मात्रामा निष्क्रिय कर्जा देखिनुले पनि फाईनान्स कम्पनीहरुमा खुद मुनाफा घटेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा बैंकिङ क्षेत्रमा औषत निष्क्रिय कर्जा पाँच दशमलव ४२ प्रतिशत रहेको छ । जसमध्ये बाणिज्य बैंक र बिकास बैंकमा क्रमशः पाँच दशमलव २६ र पाँच दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय हुँदा फाईनान्स कम्पनीहरुमा ११ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा औषतमा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रि देखिएको थियो । जसमध्ये बाणिज्य बैंक र बिकास बैंकहरुमा क्रमशः चार दशमलव ७३ र पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिँदा फाईनान्स कम्पनीहरुमा १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । सोही आधारमा बाँणिज्य बैंक र बिकास बैंकको तुलनामा फाईनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा बढी भएकै कारण खुद मुनाफा तुलनात्मकरुपमा घटेको देखिएको हो ।
बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जाको अवस्था (निष्क्रिय कर्जा प्रतिशतमा)

(श्रोतः नेपाल राष्ट्र बैंक)







