काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँगको सामूहिक शिष्टाचार भेटमा सरकार मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनले नेपालले सबै देशसँगको सम्बन्धलाई उच्च महत्व दिने र पारस्परिक लाभमा आधारित सहकार्य विस्तार गर्ने नीति लिएको उल्लेख गरे।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिमा अघि बढिरहेको उल्लेख गर्दै देशको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगप्रति आभार व्यक्त गरे। उनले विश्वमा भइरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई गम्भीर असर पार्ने भएकाले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए।

उनका अनुसार सरकार लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन र दिगो विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। साथै राष्ट्रिय हितअनुकूल नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा थप सुदृढ रूपमा समेट्ने लक्ष्य पनि राखिएको उनले बताए।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले नयाँ सरकार बने पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्दै राजनीतिक स्थायित्व र पूर्वानुमानयोग्य नीति सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। उनले विकास, व्यापार, लगानी, जलवायु परिवर्तन तथा जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य बढाउने सरकारको योजना रहेको जानकारी दिए।

त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि प्रधानमन्त्री शाहले बताएका छन्।