काठमाडौं,चीन सरकारले विश्वभर कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी नीति, सुरक्षा र विकासमा सहकार्य गर्न सकिने नयाँ अन्तर्राष्ट्रिय संगठन गठन गर्ने प्रस्ताव अघि सारेको छ। शङ्घाइमा आयोजित ‘विश्व AI सम्मेलन २०२५’ मा बोल्दै चीनका प्रधानमन्त्री ली कियांगले अहिलेको AI नीति र शासन प्रणाली असमान र विभाजित रहेको भन्दै सबै देशहरूबीच सहकार्य आवश्यक भएको बताएका छन्। उनले भने यस्तो संगठनले AI क्षेत्रको विकास, प्रयोग र नियन्त्रणमा साझा नियम तथा मापदण्ड तयार पार्न सहयोग गर्नेछ, जसले शक्तिशाली देश वा कम्पनीहरूले मात्र प्रभुत्व जमाउने स्थितिमा सन्तुलन आउन सक्नेछ। चीनले यसका लागि १३ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको छ, जसमा ओपन सोर्स  प्रविधिको प्रवर्द्धन, सुरक्षा मापदण्डको साझा विकास, र डिजिटल विभाजन हटाउने जस्ता प्रस्तावहरू समावेश छन्। 

प्रस्तावित संगठनको मुख्यालय शङ्घाइमै राख्ने उपयुक्त हुने जनाइएको छ । सम्मेलनमा ४० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए भने ८०० भन्दा बढी कम्पनीहरूले आफ्ना AI नवप्रवर्तनहरू प्रस्तुत गरेका थिए। विश्लेषकहरूका अनुसार यो प्रस्ताव चीनको प्रविधि कूटनीति र अमेरिकाको प्रविधिमाथिको नेतृत्वको विकल्पको रूपमा आएको हो, जसले विश्वभर AI मा नयाँ सहकार्यको ढोका खोल्न सक्छ।

ADVERTISEMENT