काठमाडौं । आगामी अप्रिल १५ मा पहिलोपटक मनाइने अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको तयारीलाई तीव्र बनाइएको छ । जसअन्तर्गत संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समिति बैठकले अप्रिल १५ (२०८३ वैशाख २ गते) देशभरका ७५३ वटै स्थानीय तह र सातै वटै प्रदेशमा प्रभावकारी, सहभागितामूलक र दीर्घकालीन प्रभाव पार्ने गरी मनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागीहरूले आरोग्य दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले आरोग्यलाई राष्ट्रिय गौरव, जनजीविका र दीर्घकालीन विकाससँग जोड्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले योग र ध्यानका गुरु भगवान शिव भएको उल्लेख गर्दै योग परम्परासँग जोडिएको पवित्र स्थल पशुपतिनाथको सन्दर्भ उठाउँदै वेलनेसलाई केवल प्रचारमा सीमित नराखी जनजीविकासँग जोड्नुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकमा बढ्दो निराशा अन्त्य गर्न र राष्ट्रिय गौरव जोगाउन वेलनेस आवश्यक छ । हामीले वेलनेस पर्यटन अरूलाई बेच्नुअघि आफ्नै मूल्य चिन्नुपर्छ । यो सुरुवात मात्र हो, लामो यात्रा बाँकी छ– तर आधारभूत संरचना, मौलिकता र हाम्रो पहिचान जोगाउँदै अघि बढ्न सके वेलनेस नेपालको समृद्धिको नयाँ आधार बन्नेछ ।’

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले वेलनेसलाई नेपालको आध्यात्मिक परम्परा र सांस्कृतिक मौलिकतासँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिएका छन् । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन परम्परागत सोचभन्दा फरक र परिणाममुखी दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । निरोगी जीवन र स्वस्थ समाज निर्माणमा टेवा पु¥याउने वेलनेसलाई दीर्घकालीन रूपमा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने उनको धारणा थियो । उनले थपे, ‘वेलनेसलाई व्यवहारमा उतार्न हामीले क्षेत्रगत ढाँचामा काम गर्नुपर्छ । विद्यालयमा ध्यान अभ्यास, होटल क्षेत्रमा स्वस्थ खानपान, र हिमाली क्षेत्रमा माइन्डफुलनेससँग जोडिएका गतिविधिले छोटो समयमा नै व्यापक सन्देश दिन सक्छन् ।’

ADVERTISEMENT

मन्त्रालय सचिव मुकुन्दप्रसाद निरौलाले आरोग्यलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै भने, ‘यो केवल एक दिवस होइन, नेपालको मौलिक ज्ञान, संस्कृति र जीवनशैलीलाई विश्वभर फैलाउने ऐतिहासिक अवसर हो । आजको बैठकमार्फत जिम्मेवारी बाँडफाँट गर्दै कार्यान्वयनलाई स्पष्ट बनाइएको छ ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वेलनेस पर्यटन नेपालको प्रमुख सम्भावना भएको उल्लेख गर्दै भने, ‘नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाले हामीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाएको छ । अब वेलनेस पर्यटन उत्पादन विकास, प्याकेजिङ र प्रवद्र्धनलाई सशक्त बनाउँदै नेपालको आम्दानीको मुख्य धारा बनाउने समय आएको छ । त्यसका लागि हामीले देशभित्र र बाहिर यस दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आजको आवश्यकता हो ।’

वेलनेस पर्यटनका सम्भावना र अवसरबारे प्रस्तुति दिँदै सुदिप बैजुले नेपाललाई विश्वकै प्रमुख वेलनेस गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गरे । उनले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्न सकिने बताए । जीवन विज्ञानका संस्थापक सदस्य एलपी भानुले वेलनेस जीवन जिउने कला भएको उल्लेख गर्दै विश्वले खोजेको र नेपालले दिन सक्ने मुख्य विषय भएको उल्लेख गरे ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । जुन नेपालका लागि एक महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ । यस निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ को अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउने टेवा पु¥याउनेछ । नेपालको पर्यटन आम्दानी ६१२ मिलियन अमेरिकी डलर रहेकोमा वेलनेस पर्यटनको हिस्सा २५ मिलियन (करिब ४ प्रतिशत) रहेको छ ।